प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनकः काँग्रेस

४ चैत्र २०७५, सोमबार ११:३०

काठमाडौं, राष्ट्रिय सुरक्षा परिषदलाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास भएको नेपाली काँग्रेसले आरोप लगाएको छ । आइतबार साँझ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको उल्लेख गर्नु भएको छ ।
संविधानको धारा २६७ को उपधारा ६ मा सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुने उल्लेख भएपनि प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिज्ञप्तिमा बताउनु भएको छ । ‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व बलियो ढंगले गर्न पर्याप्त अधिकार सुरक्षित गरेकै छ तर कहिले प्रधानमन्त्री कार्यालयमा कयौं संस्था र शक्ति थप गर्ने अनि कहिले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कर्मले अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको मात्रै छ ।’राष्ट्रिय सुरक्षाको दृष्टिले यो संवेदनशील विषय भएकाले विधेयक परिमार्जन गरेर पारित गर्न पनि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गर्नु भएको छ ।