प्रदेश ७ मा दलको नेता चुन्ने जिम्मा भीम रावललाई

४ फाल्गुन २०७४, शुक्रबार ०६:५०

फागुन ४, काठमाडौं ।

एमालेले प्रदेश ७ को संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।

शुक्रबार विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको हो ।

बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको सांसद पूर्णा जोशीले जानकारी दिइन ।

उनले बैठकमा बोल्ने अधिकांश सांसदहरुले निर्विरोध नेता छान्नु पर्ने बिचार राखेको बताइन् ।

संसदीय दलको बैठकमा सांसदहरु प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टले संसदीय दलको नेताका लागि आकांक्ष देखाएको जोशीले जानकारी दिइन् ।

सम्भवतः आज नभए भोलिसम्म संसदीय दलको नेता चयन भइसक्ने उनको भनाइ छ ।