“प्रदेश ३ को राजधानी बाहिर भएको हल्ला र प्रचारबाजीले सर्ने कुरा छैन” : प्रचण्ड

७ चैत्र २०७४, बुधबार ०८:५८

चैत ७, काठमाडौं ।

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् ।


अध्यक्ष प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताए ।

सिराहामा भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी मार्गको शिलान्यास गरेपछि प्रचण्ड व्यवसायी अजयेराज सुमार्गीले व्यवस्था गरेको हेलिकोप्टर चढेर मंगलबार हेटौंडा आएका थिए ।

बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारले निर्णय गरेअनुसार नै औपचारीक कार्यक्रम भैरहेकाले यहाँबाट राजधानी नसर्ने बताए । उनले भने, ‘प्रकृया अगाडि बढिसकेको र कामहरु औपचारीक रुपले सुरु भएकाले बाहिर भएको हल्ला र प्रचारबाजीले राजधानी सर्ने कुरा छैन ।’

सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले राजधानी सार्ने कुरा अब धेरै गर्न नहुने र जिम्मेवार पदमा रहेकाले बोल्दै हिँड्न नहुने उनले बताए । ‘हुन त कसैले बोल्दैमा राजधानी सर्नेपनि होइन तैपनि जनतालाई भ्रममा राख्दै प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।