प्रदेश पाँच : प्रदेशसभाको तेस्रो अधिवेशन सकियो, नाम र स्थायी राजधानी अझै अन्यौलमा

२३ बैशाख २०७६, सोमबार ११:०८

रुपन्देही – प्रदेश नम्बर पाँचको तेस्रो अधिवेशन आइतबारदेखि सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्र अनुसार आइतबार राति १२ बजेदेदि अधिवेशन सकिएको हो ।

मंसिर २३ गते सुरु भएको अधिवेशनमा ३८ बिधेयक पारित भएको सभामुख पूर्णबहादुर घर्तिमगरले बताउनु भयो । यो अधिवेशनले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । 

स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिले राजधानी कहाँ बनाउने भनेर विज्ञसँग थप छलफल गर्नुपर्ने निर्णय गरेपछि यो विषय पेचिलो बन्ने देखिएको हो । 

जिल्ला जिल्लामा पुगेर सुझाव संकलन गरेका उपसमितिका सदस्यहरुले एकीकृत प्रतिवेदन समितिका बुझाएका थिए । तर राजधानी तोक्दा सुरक्षा, मौसम र भुगोललाई पनि ध्यान दिनुपर्ने भन्दै विशेष समितिले विज्ञसँग छलफल गर्नुपर्ने निर्णय लिएको सभापति संयोजक दीपेन्द्र पुनले बताउनुभयो ।

उपसमितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रुपन्देही या दाङ हुनुपर्ने सुझाव सहितको प्रतिवेदन विशेष समितिमा बुझाएको छ । विकल्पमा कपिलवस्तुको नाम पनि दिइएको छ ।