‘प्रचण्ड’ अझै १ हप्ता सिंगापुरमै बस्ने

१२ असार २०७५, मंगलवार ११:०७

असार १२, काठमाडौं ।

नेपाल कम्यूनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिताको उपचारका क्रममा अझै १ हप्ता सिंगापुरमै बस्ने भएका छन् ।

पत्नी सिता दाहालको उपचारका लागि प्रचण्ड असार पहिलो हप्ता सिंगापुर गएका थिए । बुबासँगै सिंगापुर गएकी प्रचण्डकी छोरी गंगा दाहालले आज स्वदेश फर्किएपछि फेसबुकमा स्टेटस लेख्दै आमाको स्वास्थ्यमा सुधार आएको जानकारी गराएकी छन् ।

 

‘ममीको उपचारका लागि सिंगापुर पुगेर नेपाल फर्किएको छु । वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने सल्लाह अनुसार अझै १ हप्ता त्यही बसेर उपचार गर्ने र अहिले ममीको स्वास्थ्यमा निकै सुधार आएको छ,’ उनले लेखेकी छन्, ‘देशको राजनीति र व्यस्तताका बाबजुद पनि ममीको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै १ हप्तापछि नेपाल फर्कनु हुनेछ ।’