‘प्रचण्डमाथि खुकुरी आक्रमण’ भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक पक्राउ

११ मंसिर २०७५, मंगलवार १७:४३

काठमाडौं–

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ गोपाल चन्द पक्राउ परेका छन् ।

पोष्टपाटी डटकम नामक अनलाइनका सम्पादक रहेका चन्दलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहले जानकारी दिए ।मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै पोष्टपाटी डटकमले भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।

पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताएका छन् ।रोल्पाको गंगादेवी गाउँपालिका स्थायी घर भएका चन्द भक्तपुरको ठिमी बस्दै आएका थिए ।