प्रक्रिया पुरा गरेर लाइसेन्स लिन पनि घुस, २ लाखभन्दा बढीले प्रक्रिया पुरा गरे पनि पाएनन् लाइसेन्स

८ चैत्र २०७४, बिहीबार ०७:२२

चैत ८, काठमाडौं ।

निकै हल्लाखल्ला गर्दै ल्याइएको स्मार्ट लाइसेन्सको अहिले बेहाल छ । नेपाली नागरिकको डेटाको सुरक्षा, लाइसेन्सको गुणस्तरमाथि प्रश्न सम्बोधन हुन सकेको छैन ।

अब अर्को समस्या थपिएको छ, ‘प्रक्रिया पुरा गरेर पनि महिनौंसम्म स्मार्ट लाइसेन्स नपाइने र तत्कालै लिने भए कर्मचारीलार्इ घुस खुवाउनपर्ने ।’


हाल ट्रायल तथा नवीकरणका लागि आवेदन दिएको १० महिनासम्म पनि लाइसेन्स पाउन मुस्किल छ ।

यातायात व्यवस्था विभागमा प्रवक्ता तुल्सीराम अर्यालकाअनुसार अझै २ लाखभन्दा बढी सेवाग्राहीले सबै प्रक्रिया पुरा गरेर पनि लाइसेन्स पाएका छैनन् ।

भारतीय ठेकेदार कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले पर्याप्त स्मार्ट कार्ड नदिँदा समस्या भएको विभागको तर्क छ । तर, यही मौकामा यातायात कार्यालयहरुमा घुसखोरी मौलाएको गुनासो बढेको छ ।

त्यसै पनि यातायातमा अतिरिक्त रकम नदिए काम गर्नै मुस्किल छ । अहिले सबै प्रक्रिया पुरा गर्दा पनि अतिरिक्त रकम बुझाएपछि मात्रै लाइसेन्स पाउने अवस्था अाएको छ ।

१० हजारसम्म अतिरिक्त रकम लिने र तत्काल लाइसेन्स दिने गरिएको स्रोतको दाबी छ । यसमा विभागमा उच्च अधिकारीहरुको मिलोमतो रहेको बताइएको छ ।

केही कर्मचारीहरुले महानिर्देशकलाई नै सहमत गराएर पालै नआएका चालकको लाइसेन्स छपाइरहेको दावी विभाग स्रोत बताउँछ । त्यसैकारण विभागमा धेरैजसो अधिकारीको कार्यकक्षमै लाइसेन्सको चाङ भेटिन थालेको छ ।

केही साता अघि आएको एक लाख स्मार्ट लाइसेन्स मध्ये धेरै यसरी नै बाँडिएको छ ।

लाइसेन्स लिन दैनिक करिब पाँच हजार सेवाग्राहीले तोकिएको प्रक्रिया पूरा गर्ने गरेका छन । तर, यातयात व्यवस्था विभागले दिनमा मुस्किलले ९ सय वटा कार्ड छाप्छ । त्यसमा पनि दिनमा १०० बढी ‘सेटिङ’मा आएकाहरु पर्ने गरेको छ ।

‘हाकिमहरुले फलानो मान्छे आउँछन्, लाइसेन्स दिनु भनेर कार्ड छाड्नुहुन्छ’ एक कर्मचारी भन्छन् ।

यसबारे प्रश्न गर्दा विभागका महानिर्देशक रुप नारायण भट्टराई भने पन्छिए । ‘शान्ति मिसनमा जाने सेना प्रहरी लगायतलाई अलिअलि दिने गरिएको हो’ उनले भने, ‘धेरै गुनासो आयो । अब त्यसलाई पनि रोक्न भन्छु ।’

स्मार्ट लाइसेन्स अभाव चर्किकएको महिनौं बितिसक्यो । वितरण सुरु भएको केही समयमै अभाव सुरु भएपनि विभागले समस्या समाधान गर्न ठोस कदम चाल्न सकेको छैन ।

अनौठो त के भने डेटाको सुरक्षा, लाइसेन्सको गुणस्तरमाथि उठेकेा प्रश्न सम्बोधन गर्दै तत्काल लाइसेन्स दिन नसकिरहेको अवस्थामा देशभर स्मार्ट लाइसेन्स वितरण थालिएको छ । यसले परम्परागत लाइसेन्स पाउने बाटो पनि बन्द भएको छ ।

यसले नयाँ लाइसेन्स लिन चाहने र नवीकरण गर्नु पर्ने सेवाग्राही थप मारमा परेका छन् । कर्मचारी भने सेटिङमा लाइसेन्स दिने र पैसा कामाउने धन्दामा छन् ।