पोख्रेल र अर्यालबीचको विवादले प्रधानमन्त्रीलाई तनाव

२ बैशाख २०७७, मंगलवार १९:२२

काठमाण्डौ , कोरोना भाइरसका कारण देश नै ठप्प रहेको बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेल तथा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल विचको विवादले उग्ररुप लिएको छ । विवादकै कारण अर्यालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति अन्तर्गतको ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ को संयोजक पदबाट ११ दिनमै राजिनामा दिएपछि उनीहरुबीचको विवाद सतहमा आएको हो । उपप्रधानमन्त्री पोख्रेल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक हुन् ।

स्रोतका अनुसार राजिनामा दिएपछि सचिव अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत उपप्रधानमन्त्री पोख्रेलको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

मन्त्री परिषद्ले चैत्र १६ गते कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि उक्त केन्द्र गठन गर्दै त्यसको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई तोकेको थियो । तीन सदस्यीय केन्द्रका बाँकी दुई सदस्यमा नेपाली सेनाका प्रबन्ध रथी र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहेका छन् । नेपाली सेनाको छाउनीस्थित महावीर गणमा सीसीएमसी कार्यालय स्थापना गरी त्यहीबाट कार्य सञ्चालन भइरहेको छ ।

स्रोतका अनुसार सचिव अर्यालले पोख्रेलको मातहतमा रहेर काम गर्न नसक्ने भन्दै पटक पटक प्रधानमन्त्री ओलीसंग अनुरोध गरेका थिए । शुरुमा ओलीले ‘मिलेर काम गर्न’ अनुरोध गरे पनि अर्यालले कामै गर्न नसक्ने बताएपछि सरकारले २७ चैतमा उनको ठाउँमा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिव नारायणप्रसाद बिडारीलाई संयोजक नियुक्त गरेको छ ।

पोखरेल नेतृत्वको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विवादास्पद ओम्नी समूहसंग गरेको सम्झौताप्रति सचिव अर्यालले शुरुदेखि नै आपत्ति जनाएको स्रोतको दावि छ । साथै उनले कोरोना भाइरस नियन्त्रणमा सेनालाई नेतृत्वदायि भूमिका दिने बारेमा असहमती जनाउंदै आइरहेका थिए । त्यही विषयमा रक्षा मन्त्री पोख्रेल र सचिव अर्याल बीच चर्काचर्की भएपछि उनले ‘पोख्रेलको मातहतमा काम गर्न नसक्ने’ भन्दै प्रधानमन्त्री ओलीसंग आफूलाई हटाउन अनुरोध गरेका थिए । सचिव अर्यालले उठाएको विषयप्रति प्रधानमन्त्री ओलीसमेत गंभिर रहेको स्रोतको भनाइ छ । ओलीले त्यसबारेमा पोख्रेलसंग गंभिररुपमा चासो व्यक्त गर्दै ‘विषयको गांम्भिर्यतालाई बुझेर काम गर्न’ चेतावनी दिएको बताइएको छ । स्वास्थ्यको कारण आफू पूर्ण रुपमा हुन नसकेकोले उपप्रधानमन्त्री पोख्रेलको भर पर्नु परेका ओलीले आफूलाई बदनाम गराउने काम भैरहेको महसुस गरेको उनी निकटका एक नेताले जनतापाटीलाई बताए ।(जनतापाटी डटकमबाट साभार)