पोखरा महानगरले तयार पार्‍यो १८ कानुन

२८ फाल्गुन २०७४, सोमबार ०९:०५

फागुन २८, काठमाडौं ।

पोखरा महानगरपालिकाले आफूलाई आवश्यक कानुन तयार पार्न थालेको छ ।

संविधानले व्यवस्था गरेको २२ वटा अधिकारीको प्रयोग गर्दै पोखरा महानगरपालिकाले तत्काललाई केही कानुन विधायन सभामा टेबल गर्दैछ ।

पोखरा महानगरपालिकाको आज विधायन सभा हुँदैछ । सभामा महानगरका लागि आवश्यक १८ वटा ऐन, नीति, कार्यविधि र निर्देशिका टेबल गर्न लागेको हो ।

संविधानसँग नबाझिने गरी कानुन बनाउन लागेको महानगरका मेयर मानबहादुर जिरीले जानकारी दिए । ‘हिउँदे तथा विधायन सभामा हामीले १८ वटा कानुन प्रस्तुत गर्दैछौं,’ महानगरका मेयर जिसीले भनेे, ‘सभामा प्रस्तुत गरेपछि छलफल तथा संशोधनको प्रक्रियामा जान्छ ।’

 

महानगरले आवश्यकताअनुसार १ सय २० वटा कानुन बनाउन सक्ने र त्यसमा अहिले प्राथमिकताका आधारमा १८ वटामात्रै कानुन बनाउन लागेको मेयर जिसी बताउँछन् ।

पशुपंक्षी, कृषि, स्वास्थ्य नीति, शिक्षा कार्यविधि, सहकारी सञ्चालन ऐन, व्यवसाय प्रवर्द्धन ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि, न्यायिक समिति सञ्चालन कार्यविधि तयार पार्ने काम भइरहेको मेयर जिसीले जानकारी दिए ।

कर्मचारी व्यवस्थापन ऐनलगायतका ऐन निर्माण मापदण्ड ऐन, विज्ञापन कर नीति, फोहोरमैला व्यवस्थापन ऐनलगायतका ऐन तथा कानुन आजको सभामा पेश हुनेछ ।

स्थानीय तह र प्रदेश सरकारका साझा अधिकारका विषयमा पनि कार्यविधि बनाएर जान सकिने मेयर जिसीले बताए । प्रदेश कानुनसँग नबाझिने गरी कार्यविधि बनाउने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

विभिन्न शाखा तथा महाशाखाबाट तयार पारिएका कानुन तथा कार्यविधिमाथि छलफल तथा संशोधन गर्न ५ समिति गठन भएको छ ।

महानगरका ३३ वडामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसहित १ सय ६७ जना निर्वाचित प्रतिनिधि छन् ।