पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि गरेको भन्दै आज भारत बन्द

२५ भाद्र २०७५, सोमबार ११:१६

पेट्रोल र डिजेलमा मूल्यवृद्धिको विरोधमा कांग्रेसलगायत विपक्षी दलले सोमबार भारत बन्दको घोषणा गरेका छन् ।

भारतमा पछिल्ला केही दिनदेखि पेट्रोल र डिजेलको मूल्य लगातार वृद्धि भइरहेको बताउँदै भारत बन्दको घोषणा गरिएको बताइएको छ । भारतमा आइतबार पेट्रोलमा १२ पैसा प्रति लिटर र डिजेलमा १० पैसा प्रतिलिटर वृद्धि गरिएको छ ।

बीबीसीका अनुसार केही राज्यमा पेट्रोलको मूल्य ८० भारु माथि पुगेको छ जुन अहिलेसम्मको सबैभन्दा महँगो हो । दिल्लीमा पेट्रोलको मूल्य ८०।५० भारु र डिजेलको मूल्य ७२।६० भारु प्रतिलिटर भएको छ । बिहारमा पेट्रोलको मूल्य योभन्दा पनि धेरै भएको छ ।

सोमबार हुने बन्दको व्यापकताबारे कांग्रेस महासचिव शकिल अहमदले भने, ‘कांग्रेसले भारत बन्दको अपिल गरेको छ र अन्य विपक्षी दलले पनि यसको समर्थन गरेका छन् । पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मूल्य लगातार वृद्धि छ । जब यसको मूल्य बढ्छ तब सर्वसाधारण पनि तनावमा हुन्छन् । यसकारण जनताबाट हामीले यसको भरपुर समर्थन पाउनेछौं ।’

कांग्रेसका अनुसार उसले विभिन्न विपक्षी दलबाट समर्थन पाएको छ । यीमध्ये आरजेडी, उत्तर प्रदेशको विपक्षी दल र वामपन्थी दल समावेश छन् ।

एजेन्सी