पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले पाए स्वास्थ्य सेवा

९ मंसिर २०७४, शनिबार १०:५७

मंसिर ९, सुरुङ्गा । झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षणबाट गरिएको थियो ।

मंसिर ८ गतेसम्म सञ्चालन रहेको महोत्सवमा १६ हजार ८३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

महोत्सव अवधिभरमा ३२१ जनाले शल्यक्रिया सेवा, १५ हजार ७३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

महोत्सव सम्पन्न गर्न करिब करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य महोत्सवमा नेपालका विभिन्नस्थान भारतबाट पनि सेवाग्राही स्वास्थ्य जाँच गर्न आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । रासस