पूर्वप्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी

२९ पुष २०७६, मंगलवार ११:३८

काठमाडौं, सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।

गृह मन्त्रालयले बनाएको कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई नौ जनासम्म सुरक्षाकर्मी दिइने व्यवस्था छ । तर, पूर्वप्रधानमन्त्रीले व्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मी फिर्ता गर्न सकेको छैन ।

प्रहरीका निकाय पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएका छन् । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि शेरबहादुर देउवा हुँदै लोकेन्द्रबहादुर चन्दसम्मले व्यक्तिगत सुरक्षाका लागि सरकारी कार्यविधि मिचेर सुरक्षाकर्मी राखेका छन् ।

प्राप्त तथ्यांकअनुसार पूर्वप्रधानमन्त्री दाहाललाई कार्यविधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २५ जेठ २०६८ को बैठकले भने पूर्वप्रधानमन्त्री दाहाललाई २६ जना सुरक्षाकर्मी दिने निर्णय गरेको थियो ।

त्यसपछि २२ माघ २०७४ को मन्त्रिपरिषद् निर्णयले खटाउँदै आएको सुरक्षाकर्मी यथावत् राख्ने निर्णय गरेको थियो । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् ।

उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । सो संख्या कार्यविधिअनुसार पाउनुपर्नेभन्दा १० जना बढी हो । यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्यविधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो ।

पूर्वप्रधानमन्त्री देउवा २२ माघ २०७४ को मन्त्रिपरिषद् बैठकले २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवासमा समेत १७ जना सुरक्षाकर्मी छन् । सो संख्यासमेत कार्यविधिले तोकेभन्दा आठ जना बढी हो ।

यसैगरी, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई निवासमा ११ जना सुरक्षाकर्मी खटिएको सुरक्षा स्रोतले जनाएको छ । यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।

यो पनि कार्यविधिभन्दा बढी हो । यसैगरी, पूर्वप्रधानमन्त्री चन्दको व्यक्तिगत सुरक्षामा १२ जना खटिँदै आएका छन् । सो संख्या कार्यविधि अनुसार तीन जना बढी हो ।(आजको राजधानी दैनिकबाट)