पूर्णता पायो प्रदेश ६ मा सरकारले , प्रकाश ज्वाला अर्थ, नरेश भण्डारीलाई गृह मन्त्री

६ फाल्गुन २०७४, आईतवार १०:४४

फागुन ६, काठमाडौं ।

प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई सिफारिस गरेका छन् ।

अहिले प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।

आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालाले पाएका छन् । यो मन्त्रालय माओवादीका भण्डारीले दावी गर्दै आएका थिए ।

आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वाचित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । भण्डारी मुख्यमन्त्रीका दावेदार थिए ।

यस्तै, सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनीहरु सबै एमालेबाट निर्वाचित सांसद हुन् ।

रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वाचित सांसद हुन् ।