पुलिसको साख फर्काउने लक्ष्य, च्यासल पहिचानको खोजीमा

१० मंसिर २०७५, सोमबार १०:२६

काठमाडौं ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लब नयाँ नाम होइन । लगातार तीन पटक उपाधि उचालिसकेको पुलिस क्लब लिगको सदाबहार दाबेदार हो । तर पछिल्लो समयको नकआउट प्रतियोगिताको नतिजा हेर्ने हो भने पुलिसको लय राम्रो छैन । लामो समयपछि भएको लिगमा पुलिस पुरानो साख जोगाउने लक्ष्यमा छ ।

 

साख फर्काउनले लक्ष्यमा रहेको पुलिस क्लबले सोमबार हल्चोकस्थित सशत्र प्रहरी बलको फुटबल मैदानमा नव प्रवेशी च्यासल युथ क्लबविरुद्ध खेल्नेछ । ‘ए’ डिभिजन लिगमा पहिलो पटक पाइला राखेको च्यासल फरक पहिचान बनाउने लक्ष्यमा छ । ‘बी’ डिभिजनमा ‘मिड टेबल’को टिमका रुपमा परिचित बनाएको च्यासल पछिल्लो समय नयाँ पहिचान बनाउने लक्ष्यमा छ । ‘बी’ डिभिजनमा च्याम्पियन बन्दै नयाँ जोशका साथ शीर्ष लिगमा होमिएको च्यासलले दाबेदारी प्रस्तुत गर्नेगरी टिम बनाएको छ । टोलीको सुरुआती नतिजा भने सन्तोषजनक छैन ।

अहिलेसम्मको खेल ठिकै छ । ‘ए’ डिभिजनमा हामी नयाँ टिम भएकाले सहज स्थिती छैन च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले भने,तर, हाम्रो टिमले विस्तारै लय समाउदै छ । अबका खेलहरुमा राम्रो गर्दै जानेछौं ।पहिलो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको च्यासल दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । तर, तेस्रो खेलमा एनआरटीमाथि ५–१ को सहज नतिजा निकालेको थियो । यसबीचमा च्यासलले राइनोज कपको उपाधि पनि उचालिसकेको छ । राइनोज कप खेलेर फर्किनेवित्तिकै खेल्नु परेको कारण त्रिभुनव आर्मीविरुद्ध नतिजा निकाल्न नसकेको प्रशिक्षक शाक्यले बताएका थिए ।

 

विमल घर्तिमगर, संजोग राई जस्ता युवा फरवार्ड भएको च्यासलको आक्रमण पंक्तिलाई अनुभवी सन्तोष साउखलको आगमनले अझै हौसाएको छ । अमिर श्रेष्ठ, हेमन्त थापामगर मिडफिल्डमा प्रभाव छाड्न सफल भएका छन् । देबेन्द्र तामाङको नेतृत्वमा रहेको च्यासलको रक्षापंक्तिमा कोएरा फ्लोरेन्टको उपस्थितीले थप मजबुद बनाएको छ । च्यासलले मिडफिल्ड र अग्रपंक्तिमा विदेशी खेलाडी ल्याउने तयारीमा छ । एनआरटीविरुद्धको नतिजाबाट खेलाडीको मनोबल उच्च रहे पनि प्रशिक्षक शाक्यले पुलिस क्लबसँगको खेल सहज नहुने बताएका छन् ।

लिगमा आगामी खेलहरु टफ हुनेछन् । पुलिसविरुद्ध हामी जित्नका लागि खेल्नेछौं, राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक शाक्यले थपे, पुलिस क्लब बर्षभरी तयारी गर्ने टिम हो । तर पनि हामी तीन अंकका लागि खेल्नेछौं ।युवा खेलाडीको बाहुल्य रहेको पुलिसका प्रशिक्षक अनन्त थापाले सदा झै आफुहरु उपाधिको दाबेदार रहेको बताउँदै आएका छन् । लिगमा तेस्रो चरणको खेल सकिँदा समान ४ अंक जोडेको च्यासल र पुलिस क्लब क्रमशः छैटौं सातौं स्थानमा छ । समान ९ अंक जोडेको मनाङ मस्र्याङदी र संकटा क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समान ७ अंक जोडेको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लब तस्रो र चौथो स्थानमा छ । तेस्रो खेलमा मनाङसँग २–१ ले पराजित थ्री स्टार ६ अंकका साथ चौथो स्थानमा छ ।

 

पुलिस क्लबका प्रशिक्षक थापाले पुलिसको पुरानो साख फर्काउने बताएका छन् । उनले लिगमा बाँकी खेल तीन अंकका लागि खेल्ने बताएका छन् । समग्रमा अहिले सम्म हाम्रो खेल राम्रो भएको छ । अबका खेलमा हामी तीन अंकका लागि खेल्नेछौं । त्यही हाम्रो लक्ष्य हुन्छ आक्रमणमा समस्या रहेको स्विकार्दै पुलिस क्लबका प्रशिक्षक थापाले थपे, हाम्रो फिनिसिङमा केही समस्या देखिरेहेको छ । त्यसमा सुधार गर्नेछौं । च्यासलविरुद्ध हाम्रो बराबरीको खेल हुनेछ । सोमबार हामी समयमै गोल निकाल्ने लक्ष्यमा हुनेछौं । समयमा गोल निस्कियो भने हामी जित्न सक्छौं ।