पुर्खाले यो देश लडेर बचाएका हुनः प्रधानमन्त्री ओली

२८ जेष्ठ २०७७, बुधबार १२:०४

 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता अभियान नेपाल र नेपालीको साझा भावना भएको बताउनु भएको छ । बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तरगतको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गर्नु भयो । ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, उहाँले भन्नु भयो , ‘भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो। कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन। कसैलाई देवत्वकरण गर्ने कुरै होइन।’ ओलीले अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै सपना नरहेको पनि बताउनु भएको छ । उहाँले शक्ति केन्द्रित गर्ने आफ्नो सोच पनि नरहेको स्पष्ट पर्नु भयो ।