पुरै चीनमा फैलियो कोरोना भाइरस, २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

१७ माघ २०७६, शुक्रबार २०:०६

काठमाडौं , चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।

गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो। ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

मृतकको संख्या २ सय नाघ्यो

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ। हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो। त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ। शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ। बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन्।

पुरै चीनमा फैलियो कोरोना भाइरस

नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो ।

चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो । जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन् । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित ‘चाइना डेली’ ले उल्लेख गरेको छ ।

कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन् ।

चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन।

वुहानबाट बाहिर निकाल्न आग्रह

वुहानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँबाट निकाल्न आग्रह गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल, फोन र पत्रमार्फत आफ्ना सरकारलाई जतिसक्दो चाँडो निकाल्न आग्रह गरेका हुन् । भाइरस संक्रमण फैलन थालेपछि वुहानमा अत्यावश्यकबाहेकका अन्य क्षेत्र बन्द छन् । यसरी आग्रह गर्नेमा धेरैजसो दक्षिण एसियाली राष्ट्रका विद्यार्थी छन् ।

पाकिस्तानले वुहानमा ५ सय विद्यार्थी र उनीहरूका परिवार रहेको जनाएको छ । उसले भाइरसनिगरानीमा आवश्यक पर्ने सतर्कताका कारण उनीहरूलाई स्वेदश फर्काउन अप्ठेरो भइरहेको बताएको छ । बंगलादेश र भारतले भने विमानलाई तयारी अवस्थामा राखेको जनाएका छन् ।

नागरिक फिर्ता सुरू

केही दिनअघि चिनियाँ विदेश मन्त्रालयले गरेको आग्रहविपरीत कैयौं राष्ट्रले आफ्ना नागरिक फिर्ता लगेका छन् । केहीले फिर्ता लाने तयारी गरिरहेका छन् । अमेरिकाले बुधबार २ सय अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई वुहानबाट फिर्ता लगेको छ । उसले थप मानिस फिर्ता लाने तयारी गरिरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार वुहानमा बाँकी रहेका अमेरिकी नागरिकलाई फेब्रुअरी ३ भित्र फिर्ता लगिनेछ ।

दक्षिण कोरिया र बेलायतले आफ्ना नागरिक फिर्ता लाने तयारी गरे पनि चीनबाट अनुमति प्राप्त नगरेका कारण केही ढिला भएको छ । बीबीसीका अनुसार जापानले विशेष विमानमार्फत बुधबार आफ्ना नागरिकलाई राजधानी टोकियो ओरालेको छ । अधिकारीका अनुसार थप ६ सय ५० जना जापान फर्कन चाहेकाले उनीहरूलाई ल्याउने तयारी भइरहेको छ । मलेसियाले पनि वुहानस्थित आफ्ना नागरिकलाई फर्काउने तयारी गरिरहेकोजनाएको छ ।

अमेरिकामा ‘टास्क फोर्स’

वुहानबाट अमेरिकी नागरिक फर्काउने प्रक्रिया सुरु भएसँगै ट्रम्प प्रशासनले कोरोना भाइरस ‘टास्क फोर्स’ गठन गरेको छ । तीव्र गतिमा फैलिरहेको भाइरसबाट अमेरिकालाई जोगाउन र निरीक्षण गर्न विशेष फोर्सको सुरुवात गरिएको हो ।

बुधबार राति घोषणा गरिएको ‘टास्क फोर्स’ मा १२ जना सदस्य रहने छन् । समूहको नेतृत्व अमेरिकी स्वास्थ्य सेवामन्त्री एलेक्स अजरलाई दिइएको छ । अमेरिकी नागरिकलाई भाइरसबारे पछिल्लो स्वास्थ्य र यात्राको जानकारी दिने जिम्मेवारी उक्त फोर्सलाई तोकिएको छ ।

कडा निगरानीमा राखिने

बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, सिंगापुर र न्युजिल्यान्डले वुहानबाट फिर्ता जाने सबैलाई कम्तीमा दुई साता प्रत्यक्ष निगरानीमा राख्ने जनाएको छ । देशमा थप संक्रमण फैलन नदिन उनीहरूलाई प्रत्यक्ष निगरानीमा राख्न लागिएको ती देशका अधिकारीले बताएका छन् । अस्ट्रेलियाले वुहानबाट फर्काइएका आफ्ना नागरिकलाई मुख्य भूमिबाट करिब २ हजार किलोमिटर पर रहेको क्रिसमस टापुस्थित एउटा केन्द्रमा राखेर निरीक्षण गर्ने भएको छ । सिंगापुरले मुख्य भूमिबाट उत्तर–पूर्वमा पर्ने पुलाउ उबिनमा निगरानी सुविधा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कोरोना भाइरसः वुहानबाट विभिन्न देशले आफ्ना नागरिकको उद्धार गर्न सुरु गरे
अमेरिकाले बुधबार फिर्ता लगेका मानिसलाई क्यालिफोर्नियास्थित सैन्य शिविरमा कडा निगरानीमा राखेको छ । उनीहरूलाई कम्तीमा दुई साता त्यहाँ राखिने अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । जापानले पनि वुहानबाट फर्किएका नागरिकलाई विशेष निगरानीमा राखेको छ । यसैबीच, ओलम्पिकको छनोट चरणको खेलका लागि अस्ट्रेलिया पुगेको चिनियाँ राष्ट्रिय महिला फुटबल टोलीलाई कडा स्वास्थ्य जाँचपछि अलग्गै राखिएको छ । अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार ३२ सदस्यीय टोलीलाई फेब्रुअरी ५ सम्म ब्रिसबेनस्थित होटलमा राखिनेछ ।

भारत र यूएईमा पनि संक्रमण पुष्टि

भारतले वुहानमा अध्ययनरत दक्षिणी राज्य केरलाका एक विद्यार्थीमा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । खाडी राष्ट्र संयुक्त अरब इमरेट्स (यूएई) मा पनि नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीका अनुसार चीनको वुहानबाट फर्किएका व्यक्तिमा भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । फिलिपिनसमा पनि दुई जनामा संक्रमण देखिएको छ ।

‘दुष्ट भाइरसलाई पराजित गर्छौं’

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन दुष्ट भाइरस (नोवेल कोरोना) सँग लडिरहेको जनाउँदै आफ्नोदेशले जित्नेमा विश्वस्त रहेको बताएका छन् । चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानम घेब्रेयसुससँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले कोरोना भाइरसको संक्रमण थप फैलन नदिन आफ्नो निर्देशनमा काम भइरहेको जनाए । ‘यो महामारी फैल्याउने दुष्ट भाइरसलाई हामीले लुक्न दिने छैनौं,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै

घेब्रेयसुसले बताए । भेटमा सीले भाइरस संक्रमितबारे पारदर्शी रूपमा समय–समयमा सूचना दिइने बताए । यसअघि वुहान सहरका मेयरले संक्रमितको अवस्थाबारे सूचना सार्वजनिक नगरिएको बताएका थिए ।

विमान सेवा बन्द

बेलायती राष्ट्रिय ध्वजाबाहक ‘ब्रिटिस एयरवेज’ ले चीनमा गर्दै आएका सबै उडान तत्कालका लागि स्थगित गरेको जनाएको छ । युनाइटेड एयरलाइन्स, क्याथे प्यासिफिक र लायन एयरले पनि उडान स्थगित गरेका छन् ।

कहाँ कति संक्रमितः

चीन – २१३ मृत्यु, ९६९२ संक्रमित

थाइल्यान्ड – १४ जना संक्रमित

हङकङ – १२ जना संक्रमित

जापान – ११ जना संक्रमित

सिंगापुर – १० जना संक्रमित

अस्ट्रेलिया, ताइवान – ९÷९ जना संक्रमित

मलेसिया, मकाओ – ७÷७ जना संक्रमित

अमेरिका, फ्रान्स, दक्षिण कोरिया – ६÷६ जना संक्रमित

जर्मनी, यूएई – ४÷४ जना संक्रमित

भियतनाम, क्यानडा इटाली – २÷२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत – १÷१ जना संक्रमित

यो समाचार कान्तिपुर दैनिकमा छ ।