पार्टी एकीकरणका काम चाँडै हुनपर्छः रावल

२८ माघ २०७५, सोमबार १२:४०

धनगढी , नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका इञ्चार्ज भीमबहादुर रावलले पार्टी एकीकरणको काम छिटो भन्दा छिटो टुंगाउनु पर्ने कुरामा जोड दिनु भएको छ । रावलले धनगढी विमान स्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अहिले पार्टीमा देखिएका केही विवाद र समस्याहरू बैठकबाटै समाधान गर्ने बताउनु भयो ।
पार्टी एकीकरणको काम पुरा गरेर जिम्मेवारी नपाएका नेता कार्यकर्तालाई छिटो भन्दा छिटो जिम्मेवारी दिनु पर्नेमा पनि नेता रावलले जोड दिनु भयो ।
सोही अवसरमा स्थायी समिति सदस्य तथा पार्टी एकीकरण सम्बन्धी कार्यदलका सदस्य लेखराज भट्टले भने पार्टी एकीकरणका काम चाडै टुंगाउनु पर्नेमा जोड दिनु भयो । मैले कार्यदलमा पनि चाँडो एकता हुनुपर्छ भनेर आफ्नो मत राख्दै आएको छु उहाँले एकीकरण सम्वन्धी प्रतिवेदन पनि बुझाइ सकेको बताउनु भयो ।
नेता रावल र भट्टसँगै प्रदेश अध्यक्ष कर्णबहादुर थापा पनि धनगढी पुगेका छन् । रावल, भट्ट, प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्षथापा र सचिव नेपबहादुर चौधरी सहित बस्ने वैठकले नेकपाका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई पार्टीको भेलालाई सम्वोधन गर्न धनगढी ल्याउने मितिबारे निर्णय गर्ने बताइएको छ ।ओली माघ २० गते आउने तय भएको थियो । तर, रावल र भट्टको उपस्थिति बिना भएको प्रदेश कमिटीको बैठकमा तयारी कमिटीहरूबारे विवाद भएपछि ओली धनगढी नआएको बताइन्छ ।