पार्टी एकता प्रक्रियाको खाका अन्तिम चरणमा पु¥याउने तयारी, आज पार्टीगत छलफल

२४ पुष २०७४, सोमबार ०६:१९

पुस २४, काठमाडौं । वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाको खाका अन्तिम चरणमा पु¥याउने तयारी गरेका छन् ।

दुवै दलले सोमबार (आज) पार्टीभित्र एकताको विषयमा छलफल गर्ने र मंगलबार (भोली) एकता संयोजन समितिको बैठक बसालेर एकताको आधारभूत खाका तय गर्ने भएको हुन् ।  एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ भएको छलफलमा पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे भएको थियो ।  दुई अध्यक्षबीच भएको गोप्य बैठकले आइतबार दुवै पार्टीभित्र एकताको विषयमा छलफल गर्ने र सोमवार एकता संयोजन समितिको बैठक बसेर एकताको विषय अगाडी बढाउने निर्णय गरेका छन् ।

अध्यक्ष दाहालले यसअघि दुई पार्टीबीच सहमति भएअनुसार पार्टी एकताको विषय अघि बढाउने सहमति भएको जानकारी दिए । ‘सोमवार दुवै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने छ।’ दुई नेताको गोप्य बैठकपछि पार्टी संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ ।’

एमाले र माओवादी केन्द्रबीच गत असोजमा पार्टी एकताको निर्णय भएपनि सैद्धान्तिक र प्राविधिक पक्षमा सहमति जुट्न बाँकी छ । दुई पार्टीद्वारा एकताका लागि गठन गरेको एकता संयोजन समितिको बैठक समेत बस्न सकेका छैन । दुई दलबीच पार्टीको आधारभूत सैद्धान्तिक कार्यदिशा, नेतृत्व, संगठनको स्वरुप, कार्यशैली, संरचना र नेतृत्वबारे छलफल भएपछि पार्टी संयोजन समितिको बैठक बस्ने भएको हो ।