पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त महासचिव विष्णु पौडेल

६ कार्तिक २०७५, मंगलवार १३:०६

कात्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्षनेताहरु आ–आफ्ना असन्तुष्टि  गुनासा सुनाउन केन्द्रित भएकाले कात्तिक ७ गते मातहत कमिटी एकीकरणको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।

पार्टीभित्र देखिएको समस्याको समाधान दुई दिनको सचिवालय बैठकले ‘उन्नत हिसाब’बाट पार लगाएको नेकपाका महासचिव विष्णु पौडेलले बताए । नेकपाको लिडरशीपमा असमझदारी उत्पन्न गराएर पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त भएको दाबीसमेत गरे । नेताहरुले उठाएका सबै विषयमा खुलस्त छलफल भएर आगामी दिनमा अझ एकतावद्ध हुने निर्णय बैठकले गरेको छ ।

पौडेलले भने सचिवालय बैठक असाधारण रुपमा राम्रो भएको छ । सबै विषयमा खुलस्त छलफल भयो । अत्यन्त समझदारीपूर्ण ढंगले अन्नत निष्कर्षमा पुगेका छौं । पार्टीभित्र विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिहरुले बुझे हुन्छ पार्टीमा विग्रह सम्भव छैन । प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने अघिल्लो सचिवालय बैठकको निर्णयमा माधव नेपाल र नारायणकाजी श्रेष्ठको असहमति भने कायमै छ । दुवैनेताले आफ्नो असहमतिलाई स्थायी कमिटीमा लैजाने अनुमति बैठकबाट पाएका छन् । स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्दैछ ।सचिवालयको निर्णयमा नेपाल र श्रेष्ठले नोट अफ डिसेन्ट लेखेको हल्ला भने गलत रहेको महासचिव पौडेलले बताए । अब सिंगो पार्टी एकतावद्ध रहनेछ । अनेकताको खोजी गर्ने शक्ति र प्रवृति निराश हुन्छन् ।