पाँच वर्षमा चिकित्सा शिक्षा राज्यको स्वामित्वमा ल्याउने प्रस्ताव

२१ श्रावण २०७५, सोमबार १३:१६

साउन २१, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही सांसदहरूले पाँच वर्षमा चिकित्सा शिक्षा राज्यको स्वामित्वमा ल्याउने प्रस्तावसहित संशोधन दर्ता गरेका छन् । नेकपाका खगराज अधिकारी, रेखा शर्मा, विन्दा पाण्डेसहितको सांसद्हरु संयुक्त संशोधनमा यस्तो प्रस्ताव गरिएको छ ।

नेमकिपाका प्रेम सुवालले एकल संशोधनमा पनि पाँच वर्षमा सरकारको स्वामित्वमा ल्याउने प्रस्ताव दर्ता गरेका छन् ।

सरकारी छात्रवृत्तिमा स्नात्तकोत्तर तह अध्ययन गरेका विशेषज्ञ चिकित्सकले पाँच वर्षसम्म सरकारले तोकेको क्षेत्रमा सेवा गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता भएको हो ।

सरकारले पेस गरेको मूल विधेयकमा छात्रवृत्तिमा अध्ययन गरेको चिकित्सकले सुगममा तीन वर्ष वा दुर्गममा दुई वर्ष सेवा गर्ने व्यवस्था छ ।

तर, डा. गोविन्द केसीसँगको सम्झौताका क्रममा सेवा अवधि घटाइएको थियो । सम्झौतामा सुगममा एक र दुर्गममा एक वर्ष गरी दुई वर्ष सेवा गर्ने गरी सहमति भएको थियो ।