पाँचथर सामूहिक हत्या प्रकरणः शंका गरिएका ज्वाई झुन्डिएको अवस्थामा मृत भटिए

७ जेष्ठ २०७६, मंगलवार १५:२७

काठमाण्डौ , पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्ति नै मृत भेटिएका छन् ।
स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । स्थानियहरुका अनुशार उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । मानबहादुरसँग बेमेल भएपछि उनकी श्रीमती माइत बस्दै आएकी थिइन् ।

बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । प्रहरीले यत्तिखेर घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपी अहिलेसम्म घटनामा मानबहादुरको संलग्नता थियो थिएन खुलिसकेको छैन । प्रहरीले दुबै घटनालाईं जोडेर अनुसन्धान सुरु गरिएको बताएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।