पहिलो चरण निर्वाचनको २१ गते बेलुका ५ बजेदेखि नै मतगणना सुरु : आयोग

१८ मंसिर २०७४, सोमबार ०२:३२

मंसिर १८, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना सुरु हुने जानकारी दिएका छन् ।

उनले २१ गते पाँच बजेपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुने र दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि सुरु हुने जानकारी दिए ।  आइतबार निर्वाचन आयोगमा भएको पत्रकार भेटघाटमा आयुक्त यादवले पहिलो चरणका मतपेटिका जिल्ला सदरमुकाममा रहेको र त्यो दलका प्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको निगरानीमा राखिएको पनि उनले जनाकारी दिए ।  यादवले दोस्रो चरणको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराए ।

 

“निर्वाचनको प्रचार–प्रसार गर्ने आज सोमबार अन्तिम दिन हो,” उनले भने, “दल, उमेदवार, भ्रातृ संगठन, मतदाता, मिडिया लगायत सबैलाई मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गर्छु ।”  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ ।  मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइदैन ।  उनले राजनीतिक दल र उमेदवारबीच पहिलोको तुृलनामा आचारसंहिता पालनामा सम्यम र मित्रवत व्यवहार आयोगले पाएको बताए । यसले निर्वाचन सुरक्षामा सहयोग पुगेको जनाए ।
दोस्रो चरणको निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा पुग्ने क्रममा रहेको यादवले जानकारी गराए ।

 

“सरकारबाट निर्वाचनका लागि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर फर्कने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ,” उनले भने ।  दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी गराए ।  ४७ जिल्लाका प्रतिनिधिसभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।