पहिलो चरणको निर्वाचन : कुन शीर्ष नेता कहाँबाट मतदान गर्दै ?

१० मंसिर २०७४, आईतवार ०२:५७

मंसिर १०, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई मत दिन पाउने छैनन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गरेका छन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ ।

यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हालेका छन् ।

एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका(५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उनले यहीबाट मतदान गरेका छन् ।

कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैछन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले पनि आज मतदान गर्दैछन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका(९ मा छ ।

उनको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैछन् ।