पहिरोले सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध

१ आश्विन २०७६, बुधबार १२:१९

सोलुखुम्बु , निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको छ। सोलुखुम्बु–काठमाडौं सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए।

प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ। पहिरोका कारण काठमाडौंका लागि छुटेका सवारीसाधनहरु बीच बाटोमै रोकिएको ट्राफिक प्रहरी इन्चार्ज प्रहरी हवल्दार सञ्जिव चौधरीले जानकारी दिए।

उनका अनुसार पहिरोले तिङलास्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ। त्यस्तै, ओखलढुगांको हर्कपुर क्षेत्रमा पनि पहिरो जाँदा सवारी आवगमन ठप्प बनेको छ। सवारी आवगमन ठप्प हुँदा सयौं यात्रुबीच बाटोमै रोकिएका छन्।

सोलुबाट कटारी, सिरहा, सुनसरी, विराटनगर, काठमाडौंलगायतको क्षेत्रमा हिँडेका यात्रु बिहान ११ बजेसम्म बीच बाटोमा रोकिएको ट्राफिक प्रहरी इन्चार्ज चौधरीले जानकारी दिए।

पहिरो पञ्छाएर सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ। वर्षाका कारण जिल्लाको ग्रामीण क्षेत्रका सडक समेत अवरुद्ध बनेको स्थानीयले बताएका छन्।

पानीले जमिन गलेकाले उच्च सावधानी अपनाउन प्रमुख जिल्ला अधकारी खनालले सवारी चालक, यात्रु तथा स्थानीयलाई आग्रह गरे। वर्षापछि पहिरो सम्भावना उच्च हुने हुँदा सबैलाई सावधानीपूर्वक रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ।

अहिलेसम्म जिल्लामा सामान्य पहिरोबाहेक अन्य कुनै पनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ।