पसिना बगाएको पैसा मदिरामा स्वाहा

४ फाल्गुन २०७६, आईतवार ०९:४७

बैतडी, मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ ।

मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ ।

गुणस्तरहीन मदिरामा अन्तःशुल्कको टिकटसमेत टाँसिएको हुँदैन । यस्ता मदिराले एकातिर सर्वसाधारणको स्वास्थ्यमा क्षति पु¥याइरहेको छ भने अर्कोतिर आर्थिक तथा सामाजिक अपराध बढाउन सहयोग गरेको स्थानीय बताउँछन् । गाउँ र बजारका मदिरा पसलहरूमा प्रतिबन्धित मदिरासमेत निर्वाध खरिद बिक्री भइरहेको गुनासो सुनिन्छ ।

महिला र बालबालिका पीडित
मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढीजसो महिला र बालबालिका प्रभावित भएका छन् । निर्वाचित जनप्रतिनिधि आएपछि घरेलु मदिरा नियन्त्रणका सकारात्मक प्रयासहरू भएका छन् तर सडकसँगै गाउँगाउँमा बजारु मदिरा पनि पुगेको छ । मुख्य गरी यस्ता मदिरा उपभोग गर्ने यहाँका पुरुषहरू हुन्छन् ।

परिवारका पुरुषले मदिरा खाए घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष गोविन्दराज जोशी बताउछन् । बाजुरा बुढीगङ्गा नगरपालिकाकी सीमा ९नाम परिवर्तन० को १५ वर्षको उमेरमै विवाह भयो । अहिले एक स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सीमा आफू बाध्यताले बालविवाह गरेको बताउछिन् ।

‘घरमा बुवा रक्सी खाएर सधैँ आमालाई कुटपिट गर्ने र सबैलाई गाली गर्ने भएकाले घर बस्नै मन लागेन अनि बिहे गरेँ,’ उनको भनाइ छ । यो सुनाइरहँदा उनको आखामा आँसु छचल्कियो । श्रीमान् मजदुरी गर्न भारत गएकाले सासूको हेरविचार गरी सीमा गाउँमै बसिन् । बीस वर्ष नपुगी विवाह गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै जड्याहा बुवाको अत्याचारबाट मुक्त हुन आफूले राजीखुसीले विवाह गरेको उनको भनाइ छ  ।

पढ्न सक्दैनन् बालबालिका
बैतडी सदरमुकामस्थित पुरानो विद्यालय दशरथ चन्द प्राथमिक विद्यालयमा अहिले हलिया र दलितका बालबालिका मात्र पढिरहेका छन् ।

न्यून आय भएका परिवारका यी बालबालिकालाई शैक्षिक सामग्री, लुगाफाटाको मात्र अभाव हैन, उनीहरू घरमा अध्ययन गर्ने राम्रो वातावरण पनि पाएका छैनन् ।

केही दिनअघि विद्यालयका एक विद्यार्थी टाउकोमा चोट लिएर रुँदै विद्यालय आएको सुनाउँदै शिक्षक दीपक भट्ट भन्छन्, ‘‘बाबाले रक्सी खाएर आए, होमवर्क गर्नै पाइएन भन्छन् । अधिकांश विद्यार्थीको गुनासो नै यही हुन्छ ।’

मदिरा सेवन गरेर घरका ठूला मान्छेले झैझगडा गर्ने गरेका कारण बालमैत्री वातावरणमा बालबालिकाले पढ्न पाएका छैनन् । त्यसैले अधिकांश हलिया र दलित परिवारका बालबालिकाको पढाइ कमजोर रहेको प्रधानाध्यापक शरबसिंह ठगुन्नाले बताए ।

विदेशमा श्रमपछि मदिरामै स्वाहा
अछाम मङ्गलसेन–३, विरालतोलीकी सविता परियार ९४०० लाई खेतीपातीले तीन महिना खान पनि पुग्दैन । घर चलाउन कहिले पाएसम्म ज्याला मजदुरी गर्ने र कहिले आधा पेट नै बस्नुपर्ने दुखेसो पोख्छिन् । उनका श्रीमान् भने रोजगारीका लागि भारत गएका छन् । तर श्रीमानबाट पनि गतिलो भरथेग भएको छैन । ‘‘श्रीमानले कहिलेकाहीँ दुईचार हजार पठाउँछन् । रक्सी खाने बानी छ, उतै सिध्याएर आउँछन्,’ उनले भनिन् ।(आजको गोरखापत्र दैनिकबाट)