पप्पु कन्स्ट्रक्सनको लापरबाही,

२७ मंसिर २०७५, बिहीबार ०९:१६

काठमाडौं

निर्माणमा लापरबाही गरेको भन्दै नयाँ ठेक्कापट्टामा सरकारले प्रतिबन्ध लगाएको पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको तीनकुनको नेटवर्क आर्क ब्रिज बागमती नदी अलपत्र परेको छ।पप्पुले पुल निर्माणको काम थालेको ४ वर्ष पुग्न लाग्दा पनि ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

समयमै काम सम्पन्न नगरेपनि तालुकदार निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण कम्पनीलाई कुनै कारबाही गरेको छैन। समयमै काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनले राजनीतिक पहुँचकै आडमा निर्माणमा ढिलासुस्ती गरिरहेको छ।

सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच २०७१ पौष १३ गते पुल निर्माणको सम्झौता भएको थियो। सम्झौतामा २०७५ आषाढ ५ गतेसम्म पुल निर्माणको काम सक्नु पर्ने उल्लेख थियो।

‘निर्माण सम्पन्न गर्नुपर्ने समय अवधि नाघेको ५ महिना बितिसक्दा पनि निर्माण कम्पनीले म्याद थपका लागि आग्रह गरी सम्बन्धित निकायमा पठाएको छैन’, आयोजनाका सिनियर इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘समयमै काम गर्न नसकेपछि निर्माण कम्पनीले विभिन्न बाहना देखाएर पन्छिन खोजेको छ।’

काममा लापरबाही गर्ने निर्माण कम्पनीले समयमै काम गर्न नसकेपछि सरकारी अवरोध देखाएर पन्छिन खोज्ने प्रवृत्ति बढेको श्रेष्ठले बताए। सरकारी ऐन, नियममा रहेका प्राविधिक समस्याको कारण काममा केही ढिलाइ भने हुने गरेको श्रेष्ठ स्वीकार गर्छन्।

तर, पप्पुले पुल निर्माणको काम थालनी गरेपछि विभिन्न बाहना देखाएर काममा लापरबाही गरेको उनी बताउँछन्। ‘निर्माण कम्पनी पप्पुले काममा तदारुकता देखाएको छैन’, उनले भने, ‘काममा तीव्रता दिएको भए तोकिएकै समयमा काम नसकिए पनि दुई गुणा बढी काम सम्पन्न भइसकेको हुन्थ्यो।’

पप्पु प्रतिनिधि भन्छन्  हाइटेन्सन लाइनका कारण काम गर्न सकिएन  पुल निर्माणस्थलमा रहेको अन्डरग्राउन्डेड ११ हजार भोल्टको हाइटेन्सन लाइनका कारण काममा ढिला भएको भन्दै निर्माण कम्पनी पन्छिन खोजेको छ। पप्पु कन्स्ट्रक्सनका इन्जिनियर नेत्र धरलाले विद्युत प्राधिकरणले समयमै अवरोध नहटाइदिँदा काममा ढिला भएको बताए।

समयमै काम नगर्ने पप्पुले अहिले आएर काठमाडौं उपत्यका खानेपानी लिमिडेट र मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका ढल व्यवस्थापनलाई समेत दोष लगाउँदै आएको छ।

नेटवर्क आर्क ब्रिज नेपालका लागि पहिलो अभ्यास भएकाले पनि समयमा काम सम्पन्न गर्न कठिनाई भएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ। प्रविधि नयाँ हुँदा पनि डिजाइन बनाउन नै एक वर्षभन्दा बढी समय लागेको भन्दै निर्माण कम्पनी पन्छिन खोजेको छ।

पिल्लर बिना दुई पट्टि मात्र अड्याएर बनाउने नयाँ प्रविधिको पुल हो नेटवर्क आर्क ब्रिज। विश्वमा अहिले यो चलनमा छ। मुग्लिनमा पनि यही प्रविधिमा पुल बन्दै छ।