‘पद्यमावत’ हिट, दीपिकाले तोडि्न आफ्नै रेकर्ड

२९ माघ २०७४, सोमबार ०९:०३

माघ २९, काठमाडौं ।

बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘पद्यावत’ले ब्यापारमा नयाँ-नयाँ रेकर्ड कायम गर्दै अघि बढिरहेको छ । यो चलचित्रको सफलताबाट सबैभन्दा बढी फाइदा नायिका पादुकोणलाई नै भएको छ ।

चलचित्रमा दीपिका प्रमुख भूमिकामा छिन् । ‘पद्यावत’को ब्यापारसँगै नायिका पादुकोणले आफ्नै रेकर्ड ब्रेक गरेकी छिन् । यसअघि दीपिकाको सर्वाधिक व्यापार गरेको चलचित्र थियो, ‘चेन्नई एक्सप्रेस’ । ‘पद्यावत’ले ‘चेन्नई एक्सप्रेस’को रेकर्ड तोडेको हो ।

‘चेन्नई एक्सप्रेस’ले भारतबाट २ सय २६ करोड कमाई गरेको थियो भने ‘पद्यावत’ले १५ दिनमै भारतबाट २ सय ३६ करोड कमाई गरेको छ । ‘पद्यावत’ बलिउड बक्स अफिसमा १० औ धेरै कमाई गर्ने चलचित्रको सूचीमा परेको छ ।

यो भन्दा अघि ‘बाहुबली-२, दंगल, पीके, टाइगर जिन्दा हे, बजरंगी भाइजान, सुल्तान, धुम ३, कृष र किक’ले राम्रो ब्यापार गरेका थिए ।

राजपुत करणी सेनाको विरोधका कारण चलचित्र तोकिएको मितिमा रिलिज हुन सकेको थिएन । अझै भारतकै केही राज्यमा चलचित्र रिलिज भएको छैन ।

सबै राज्यमा एकसाथ प्रदर्शन भएको भए ब्यापार अझै धेरै हुने विश्लेषण चलचित्र विश्लेषकहरुको छ । दीपिकाका अन्य सफल चलचित्रहरुमध्ये सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी न्यु इयर’ले २०३ करोड कमाइ गरेको थियो ।

उक्त चलचित्रमा दीपिका र शाहरुख खानले मुख्य भुमिका निर्वाह गरेका थिए । २०१३ मा रिलिज भएको ‘ये जवानी हे दीवानी’ले १९० करोड कमाई गरेको थियो । उक्त चलचित्रमा दीपिका र रणबीर कपुरको मुख्य भुमिका थियो ।

सञ्जयलीला भन्साली निर्देशित अर्को चलचित्र ‘बाजीराव मस्तानी’ पनि धेरै कमाई गर्ने चलचित्रको सूचीमा पर्छ । उक्त चलचित्रले १८० करोड कमाई गरेको थियो ।

उक्त चलचित्रमा दीपिका र रणबीर सिंहले मुख्य भुमिका निर्वाह गरेका थिए । भन्सालीकै निर्देशन रहेको अर्को चलचित्र ‘रामलीला’ ले १ सय १० करोड कमाई गरेको थियो ।