पत्रकारमाथी आक्रमणप्रति महासंघको ध्यानाकर्षण

४ मंसिर २०७४, सोमबार ०४:०१

मंसिर ४, काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचनको समयमा देशका विभिन्न स्थानमा पत्रकारमाथि भएका आक्रमण तथा धम्कीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

आइतबार महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि भएको आक्रमणले जनताको सुसूचित हुने अधिकारमा कटिबद्ध पत्रकारमाथि हुने यस्ता आक्रमण तथा धम्कीका घटना प्रेस स्वतन्त्रतामाथिको उल्लङ्घन भएको महासंघको ठहर छ भनिएको छ ।   घटनाप्रति खेद व्यक्त गर्दै महासंघले सत्यतथ्य छानवीन गरी दोषीमाथि कारबाही गर्न र निर्भयताकासाथ पत्रकारलाई आफ्नो कार्यमा क्रियाशील हुने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

मनाङमा राष्ट्रिय समाचार समितिका प्रतिनिधि तथा महासंघ, मनाङ शाखाका उपाध्यक्ष नविन लामिछानेलाई मनाङ जिल्ला प्रदेश ‘ख’ मा एमालेका उम्मेदवार राजिव गुरुङका कार्यकर्ता तथा मेसेङ गाउँपालिका अध्यक्ष कान्छा घले र तिलिचो होटलका सञ्चालक कर्मा गुरुङले आक्रमण प्रयास गरेका थिए ।   उनीहरूले पत्रकार लामिछानेलाई मनाङमा बसे नबाँच्ने धम्कीसमेत दिएका बताइएको छ ।   त्यसै गरी, महासंघ कैलाली शाखाका सदस्य तथा जनता टेलिभिजनका कैलाली सम्बाददाता लक्ष्मी जैसीमाथि पनि हतियारधारीले आक्रमण गरेका छन् । उहाँलाई शनिबार राति आफ्नै घर बर्दगोरिया गाउँपालिका–२ बौनियामा आक्रमण गरेको महासंघले जनाएको छ ।

 

टाउको र निधारमा गम्भीर चोट लागेका जैसीको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  यसैबीच, नेपाल पत्रकार महासंघ, रासस शाखाले रासस समाचारदाता लामिछानेमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ ।   शाखा अध्यक्ष नारायण घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि हुने यस्ता दुव्र्यवहारले निर्वाधरूपमा समाचार संकलन गर्न पाउने पत्रकारको हक उल्लंघन भएको जनाउनुभएको छ । पत्रकारमाथि हुने धम्कीले स्वतन्त्र पत्रकारितामा अवरोध पुग्ने र पत्रकारहरूमा स्वनियन्त्रण बढेर जाने पनि उनले बताएको छ ।  ‘निर्वाचन र मिडिया दुवै लोकतन्त्रका उत्तिकै महत्वपूर्ण स्तम्भ भएकाले राजनीतिक नेता तथा कार्यकर्ताले पत्रकारमाथि आक्रमण होइन, सहकार्य गरी प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्दछ ।’ उनले भने ।