नौ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार

२३ मंसिर २०७७, मंगलवार १६:१०

काठमाडौं, आज मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ९.०४ अंकले घटेको छ। सेयर बजार कारोबार सुरु भएको समयमा उकालो लागे पनि बन्द हुने समयमा घटेर बन्द भएको हो।

एक करोड २५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेमा ५ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको छ। बजार घटेको दिन अधिकांश समूहका सूचक ओरालो लागे पनि जलविद्युत् र म्यूचुअल फण्ड समूहको सूचक भने उकालो लागेको छ।

जलविद्युत् ८३.८९ अंकले बढ्दा म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको छ। यी दुईबाहेक अन्य १० समूहको सूचक घटेको छ। त्यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह १३१ अंकले तथा जीवन बीमा समूह १२० अंकले घटेका छन्।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ३३ रूपैयाँ प्रति कित्ता कमाएका छन्। यसै गरी, आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर प्रतिकित्ता २८ रूपैयाँ प्रतिकित्ताले घटेको छ।

आइतबार एकै दिन १२३ अंकले घटेको नेप्से हिजो सोमबार ७२ अंकले बढेको थियो। सोमबार बढेको सेयरबाट नाफा बुक गर्दै बेच्नेहरूको भीड लागेपछि सबैजसो सूचक घट्दै परिसूचक पनि घटेको हो।