(ने क पा)को पार्टी कार्यालय सुनसान र अस्तव्यस्त

२५ जेष्ठ २०७५, शुक्रबार १०:१४

जेठ २५, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय रहने भनिएको धुम्बाराहीस्थित तत्कालीन एमालेको पार्टी कार्यालय सुनसान र अस्तव्यस्त देखिएको छ ।

गत जेठ ३ गते नेपालका दुई ठूला वामपन्थी पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । जेठ २४ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि जारी भयो । तर नवगठित पार्टीको मुख्य कार्यालय र पदाधिकारीहरूको कार्यकक्ष कहाँ रहने हो भन्ने अन्यौल कायमै छ ।

जनता र पार्टी कार्यकर्ताहरूको मनोविज्ञानमा असर नपरोस् भनेर तत्कालीन दुवै पार्टीका कार्यालयलाई मुख्य कार्यालय बनाउने भनिएको छ । तर पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय र धुम्बाराहीस्थित तत्कालीन एमालेको कार्यालय दुवै अस्तव्यस्त देखिन्छन् ।

दुवै पार्टीका जनवर्गीय संगठन र विभागहरूको समायोजनका लागि कार्यदल गठन गरिएको र सो कार्यदलले दुई महिनाभित्र जनवर्गीय संगठनहरू र विभागहरूको संरचनागत खाका तयार गर्ने भनिएको छ ।

पेरिसडाँडा पार्टीको आफ्नै कार्यालय रहेको र धुम्बाराही भाडाको कार्यालय रहेको कारणले पार्टीको मुख्य कार्यालय पेरिसडाँडा नै हुनुपर्ने तत्कालीन माओवादी कार्यकर्ताहरूको राय भएतापनि कार्यकर्ताहरूको मनोविज्ञानमा असर नपरोस् भनेर धुम्बाराहीलाई पनि मुख्य कार्यालय बनाउने तयारी रहेको नेकपाका एक नेताले बताए ।

पेरिसडाँडाजस्तै धुम्बाराही पनि आजकल सुनसान छ । पार्टी एक नहुञ्जेल कार्यालयमा कार्यकर्ताहरूको भीड हुने गर्दथ्यो । तर आजकल नवगठित पार्टीका सबै कामहरू बालुवाटार र सिंहदरबारबाट हुने हुनाले दुवै कार्यालयहरू सुनसान देखिन्छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा महासचिवको कार्यकक्ष पनि परिवर्तन गरिएको छ । ‘ग्राउण्ड फ्लोर’मै राख्ने भनिएको महासचिवको कार्यकक्ष अस्तव्यस्त छ । तत्कालीन एमाले पार्टी कार्यालय सचिव समेत रहेका कृष्णगोपाल श्रेष्ठ पूरै कार्यालयकै संरचना परिवर्तन गर्न लागिएका कारण कार्यकक्षहरू अस्तव्यस्त रहेको स्वीकार्छन् ।

कार्यालय कहिलेसम्म पूर्ण सञ्चालनमा आइसक्छ भन्ने प्रश्नको जवाफ दुवै पार्टी कार्यालयमा भेटिएका नेताहरूसँग छैन । छिटै सञ्चालनमा आउने उनीहरूको भनाइ छ ।

जिल्ला र स्थानीय तहबाट पार्टीको काम लिएर आउने कार्यकर्ताहरू अन्योलमा परेका छन् । ‘सिंहदरबार र बालुवाटारमा सजिलै छिर्न पाइँदैन, आफ्नो पार्टी कार्यालय सुनसान छ’, झापाबाट नेता भेट्न काठमाडौँ आएका एक कार्यकर्ताले गुनासो गरे ।

अचानक भएको पार्टी एकताले देशभरी खुसीसँगै सन्देह फैलिएको थियो । अस्तव्यस्त पार्टी कार्यालयहरूले कार्यकर्ताहरूमा फैलिएको सन्देहलाई बल पुर्‍याउने काम गरेको देखिन्छ । उच्च तहमा एकता भएपनि तल्लो तहमा संगठन विस्तारको काम रोकिएको छ । नेता र कार्यकर्ता भेटघाटको क्रम रोकिएको छ । कार्यकर्ताहरू निरास देखिन्छन् ।