नेविसंघ  म्याद तीन महिना थपिने निर्णय आज आउँदै

२ मंसिर २०७५, आईतवार ०८:२३

काठमाडौं

आइतबार पदावधि सकिएर विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघको पदावधि तीन महिना थप गर्ने गरी नेपाली कांग्रेसले निर्णय गर्ने भएको छ। हाल नेविसंघको विधानमा तीन महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था छ। तर यसअघि नै तीन महिना थप भइसकेको वर्तमान कार्यसमितिको म्याद आइतबार सकिँदैछ।

तीन महिना थप गरिएको समयमा पनि अधिवेशन हुन नसकेपछि थप तीन महिना म्याद थप गर्न लागिएको हो। हाल तीन महिना म्याद थप गर्न सकिने विधानको व्यवस्थालाई संशोधन गरी ६ महिना बनाउन लागिएको एक नेताले बताए।

विधान संशोधन गर्न पार्टीको निर्देशक समितिको बैठक केन्द्रीय कार्यसमिति बैठकभन्दा अगावै बस्ने भएको छ। केन्द्रीय समितिको बैठक आइतबार २ बजे बस्ने गरी बिना निष्कर्ष टुंगिएको थियो।विगतमा तदर्थ समिति गठन गर्दा वर्षौंसम्म पनि महाधिवेशन हुन नसकेकोले यसै कार्यसमितिबाट महाधिवेशन गराउनेमा अधिकांश नेताको मत मिलेको छ।विधानलाई संशोधन गर्न समय अभाव भएकाले आईतबार बैठक बसेर टुंगाउने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए।