नेविसंघलाई थप दुई महिना समयावधि

३ मंसिर २०७५, सोमबार ०७:२७

काठमाडौं ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को दुई महिना समयावधी थप भएको छ । आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नैनसिँह महर नेतृत्वको नेविसंघलाई महाधिवेशन गर्नका लागि थप दुई महिनाको समय दिएको हो ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकको बहुमतले थप दुई महिना समय दिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा संस्थापन इतर पक्षले थप दुई महिना वर्तमान कार्यमितिलाई समय दिने संस्थापन पक्षको प्रस्तावमा विरोध जनाए पनि बहुमत कार्यसमिति सदस्य संस्थापन पक्षमा उभिए पछी समय थप भएको हो ।

दुई वर्षे कार्यकालमा महाधिवेशन गर्न नसके विधानतः स्वत थपिने तीन महिना पनि गुजारेको नेविसंघ नेतृत्वलाई माउ पार्टीले पुनः दुई महिना समय उपलब्ध गराएर नयाँ नेतृत्व चयनका लागि अवसर दिएको हो ।

बैठक ले स्वतन्त्रता सेनानीहरु— सोनेलाल पासवान धनुषा, मणिसुन्दर वजियम खोटाङ, भीमराज नौलाखा मोरङ, नेपाली कांग्रेसका योद्धाहरु— तेजप्रसाद उप्रेती धादिङ कर्णबहादुर राना गुल्मी र धनबहादुर श्रेष्ठ सिन्धुपाल्चोक को निधनप्रति कार्यसमितिकोे बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले निर्वाह गर्नु भएको भूमिकालाई पार्टीले सदैव स्मरण गरिरहनेछ । आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।