नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधान खोजिँदैछः ज्ञवाली

१० श्रावण २०७६, शुक्रबार १९:१५

काठमाडौं, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । भारतले निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित ‘बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै उहाँले सो समस्याको दीर्घकालीन समाधानका लागि ३ वर्षअघि दुई मुलुकबीचको प्राविधिक टोलीले तयार पारेको डुबान समस्या समाधनसम्बन्धि प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताउनु भयो ।
सो प्रतिवेदनमा भारतले आफूले बनाएको बाँधका कारण नेपालको भूमि डुबान भएको स्वीकार गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीले सो समस्या समाधान गर्दा द्धिपक्षीय हितलाई नै ध्यानमा राखेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले दुई मुलुकबीचको डुबान समस्या समाधानका लागि अव बस्ने मन्त्रिस्तरीय बैठकमा छलफल गर्ने समझदारी गरिएको दावी पनि गर्नु भयो । अब छिटै बस्ने दुई मुलुकबीचको परराष्ट्रमन्त्री स्तरीय बैठकले सो समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ ।

मन्त्री ज्ञवालीले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई प्रभावकारी ढंगले राहतको व्यवस्था गर्न सरकारले छुट्टै विपद व्यवस्थापन प्राधिकरण बनाउने तयारी गरिरहेको पनि बताउनु भयो । त्यसका लागि कानुन निर्माणको कामलाई अघि बढाइएको उहाँको भनाई छ । मन्त्री ज्ञवालीले पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारले सो प्राधिकरण गठन गर्न लागेको पनि स्पष्ट पार्नु भयो ।