नेपाल आउने क्रिकेटर सचिन तेन्दुलकर

२१ कार्तिक २०७६, बिहीबार १०:३५

काठमाडौं , भारतका महान क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन् । क्रिकेटर सचिन खेल सम्बन्धी कार्यक्रमका लागि नभई युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुन नेपाल आउने लागेको बताइएको छ । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी एक दिनका लागि आउने भए पनि मिति तय भएको छैन ।

तर, उनी आगामी नोभेम्बर १६, २० वा २२ तारिख आउने तयारी भइरहेको युनिसेफले जनाएको छ । केही घण्टाका लागि नेपाल आउन लागेका सचिनलाई नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र युएईमा हुने भएकाले समय नमिल्ने भएको हो ।

नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ भने पारस खड्का र सन्दीप लामिछाने यही समयमा ट्वान्टी–२० खेल्न यूएई जाँदैछन् । पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा युएई जाँदैछन् । यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुईदिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए ।