नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै

२१ माघ २०७५, सोमबार १३:४३

काठमाडौँ , घरेलु टोली संयुक्त अरब इमिरेट्स युएइ विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ ।

दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनु भयो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ ।नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पुर्याइने कार्यक्रम छ ।