‘नेपाली भूमि एक इन्च पनि नमिचिएको प्रमाण देखाउन चीनलाई कांग्रेस नेता शाहीको चुनौती’

२७ कार्तिक २०७७, बिहीबार ११:२५

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीनलाई नेपाली भूमी एक इन्च पनि नमिचिएको प्रमाण पेश गर्न चुनौती दिनु भएको छ ।

चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ले नेपाल चीन सीमा विवादमा आधारहीन हल्ला फैलाएको दाबी गरेकोप्रति आपत्ति जनाउँदै उहाँले यस्तो चुनौती दिनु भएको हो ।

कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका शाहीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै चीनलाई यस्तो चुनौती दिनु भएको हो ।
नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सूक्ष्म अध्ययन एवम् विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अक्रिमण भएको निष्कर्षलाई छायामा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु’, उहाँले विज्ञप्तिमा भन्नु भएको छ, ‘एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’

उहाँले स्थलगत निरीक्षणबाट चीनले सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको प्रमाण काल्पनिक नभएको प्रमाण रहेको बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय सीमा सम्बन्धी प्रोटोकल विपरित चीनले हिल्सामा सीमा रेखामा फलामे गेट र तारबार राखेर आर्मी क्याम्प खडा गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेता शाहीले चीनले सरकारको आफ्नो मुखपत्र मार्फत स्वभिमानी नेपालीका आवाजलाई बन्द गर्ने नियतले धम्कीपूर्ण र मिथ्या आरोप लगाएको भन्दै उहाँले त्यसको पनि निन्दा गर्नु भएको छ । उहाँले नेपाल र चीनबीच देखिएको सीमा विवादको सम्बन्धमा तथ्य र प्रमाणसहित तत्काल कूटनीतिक पहल गर्नसमेत माग गर्नु भएको छ ।

‘हुम्ला जिल्लाको जिम्मेवार प्रतिनिधि भएको नाताले आफ्नो भूमिको रक्षाका लागि कुनै किसिमको धाक, धम्की र अनुचित प्रभावमा नपरी अटुट रुपमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उहाँले विज्ञप्तिमा थप भन्नु भएको छ, ‘चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न समेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमि रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाई निरन्तर दबाब सिर्जना गर्न र यस्ता मिथ्या एवम् काल्पनिक समाचारबाट भ्रममा नपर्न आम नेपाली समुदायलाई अपिल गर्दछु ।’