नेपाली चेलीको किर्तिमान कायमै चीनलाई हराए ५० रनले

१० मंसिर २०७४, आईतवार ०६:२३

मंसिर १०, काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीनले १८।२ ओभरमा अलआउट हँुदै ५२ रनमात्रै बनाउन सक्यो । नेपालको कसिलो बलिङमा चीनका कुनै पनि खेलाडी क्रिजमा टिक्न नसक्दा हार ब्यहोरेको हो । प्रतियोगितामा कमजोर मानिएको चीनले सुरुवातीदेखि नै खराब ब्याटिङ गरेको थियो । चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।

चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । प्रतियोगिताकै कमजोर टोली चीनविरुद्ध नेपाली ब्याट्वुमनहरुले खराब ब्याटिङ गरेका थिए । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, मध्यक्रममा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाएर नेपालको पारी उकासेका थिए ।

यस्तै नेपालकी कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दा करुणा भण्डारी २ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए । प्रतियोगितमा नेपालको ५ खेलबाट ६ अंक भएको छ । यससँगै ग्लोबल छनोट हुने नेपालको सम्भावना पनि सकिएको छ ।