नेपालीको मुहारमा खुसी ल्याउने महाअभियान सुरु: प्रधानमन्त्री ओली

७ फाल्गुन २०७४, सोमबार ०७:३१

फागुन ७, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महा-अभियान सुरु गर्ने उद्घोष गरेका छन् ।

 

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताएका हुन् । ‘यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आव्हान गर्दछु’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले तीनै तहको सरकारको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि बताएका छन् ।