नेपालले यूएइलाई जित्नैपर्ने दबाव ; आईसीसी विश्व क्रिकेट लिग

२८ माघ २०७४, आईतवार ०७:४०

माघ २८, काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको यात्रा गरिरहेको नेपालले आफ्नो तेस्रो खेल यूएइविरुद्ध खेल्दैछ ।

अघिल्लो खेलमा कमजोर मानिएको ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ ।


नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन । तीव्र गतिको बलिङलाई सहयोग गर्ने पीचमा नेपालका प्रमुख ब्याट्सम्यानहरुले प्रत्येक रनका लागि कडा संघर्ष गनुपरेको छ ।

पहिलो खेलमा घरेलु टोलीले दिएको केवल १३९ रनको लक्ष्य भेट्न नेपाललाई निकै कठिन परेको थियो ।

दोस्रो खेलमा पनि नेपालको ब्याटिङ १३८ रनमै समेटियो, जसलाई ओमानले मात्र ४ वकेट गुमाएर भेट्टायो ।


यूएईविरुद्धको ‘निर्णायक’ खेलमा नेपालका प्रमुख ब्याट्सम्यानहरु दबवावमा हुनेछन् । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र दिपेन्द्र ऐरीमध्ये कम्तिमा दुई जना चल्नैपर्छ ।

यसैगरी युवा खेलाडीहरु दिलिप नाथ, आरिफ सेख र रोहितकुमार पौडेलसामु पनि आफूलाई प्रमाणित गर्ने चुनौति छ ।

यूएई पनि नेपालसँगै डिभिजन १ बाट रेलिगेसनमा परेको टिम हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले अन्तिम श्रृंखला यूएईविरुद्ध नै खेलेको थियो । उक्त श्रृंखलाका दुवै म्याच नेपालले गुमाएको थियो । त्यसैले नेपाल विरुद्ध यूएईको मनोबल उच्च छ ।

आजको खेल हारेमा नेपाल फाइनलमा पुग्ने र विश्वकप छनोट खेल्ने सम्भावना लगभग टर्नेछ । अर्कोतर्फ रेलिगेसनमा परेर डिभिजन ३ मा र्झनसक्ने खतरा पनि छ ।

नामिबियाको पीच फास्ट बलरका लागि पनि सहयोगी नै देखिएको छ । तर, अरु टिमका फास्ट बलरहरुले जस्तो नेपाली बलरहरुले पीचको फाइदा उठाउन सकेको देखिँदैन ।

सोमपाल कामीले केही प्रभाव पारे पनि अर्का बलर करण केसी दुवै म्याचमा फ्लप देखिएका छन् ।

अंक तालिकामा नेपाल र यूएई लगभग उस्तै अवस्थामा छन् ।