नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन

२५ मंसिर २०७६, बुधबार ०९:५९

काठमाडौं, नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो ।

सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिनेछ ।’

सीमा विवादको विषयमा भारतलाई पठाएको पत्रबारे कुनै जवाफ नआएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएका थिए ।

सीमा विवादको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक पहल गर्ने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । भारतले जवाफ पठाउन ढिलाइ गरेपछि अबको कूटनीतिक पहल कसरी गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको बताइएको छ ।

नेपालले पठाएको पत्रको जवाफ भारतले अहिलेसम्म नपठाएपछि तत्काल सीमा विवाद समाधानका लागि नेपालले विशेष दूत पठाउने सम्भावना समेत टरेको जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले विशेष दूतका रूपमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउने भनिए पनि सो सम्भावना तत्काललाई टरेको छ । नेपालको तर्फबाट प्रधानमन्त्रीबाटै पहलकदमी गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनायो । आजको राजधानी दैनिकबाट