नेपालबाट आभुषण कालिगढको वार्षिक १८ अर्ब विदेशिने

८ कार्तिक २०७४, बुधबार ०३:०४

कात्तिक ८, काठमाडौं । नेपालबाट आभुषण कालिगढले वार्षिक १८ अर्ब रुपैयाँ विदेश लैजाने गरेका छन् । नेपालमा रहेका करिव सवा लाख विदेशी कालिगढले वार्षिक १८ अर्ब रुपैयाँ विदेश लैजाने गरेका हुन् ।

सुनचाँदी ब्यबसायी महासंघका अनुसार नेपालमा २ लाख आभुषण (सुन, चाँदी, हिरा, मोती) का गहना बनाउने कालिगढ छन् । यो संख्याका ७५ देखि ८० प्रतिशत कालिगढ विदेशी छन् । ७५ देखि ८० प्रतिशतमा पनि अधिकांश कालिगढ बंगालादेशका रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

नेपालमा २५ हजार सुनचाँदी व्यवसायी छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्रै ६ सय छन् । २५ हजार सुनचाँदी व्यवसायीमा १५ लाख निर्भर रहेको महासंघका वर्तमान अध्यक्ष मोहनबहादुर बिक बताउँछन् । वार्षिक १८ अर्ब रुपैयाँ विदेशीले लैजाने यो रकममा सरकारले कर लिँदैन । उनीहरु कामदारको रुपमा नआउने हुँदा राज्यलाई करसमेत तिर्नुपर्दैन ।

 

राज्यले चासो नदिएका कारण बर्सेनी करोडौं रकम सरकारले गुमाइरहेको शाक्यको भनाइ छ । नेपालीलाई नै यो पेशामा आकर्षित गर्न सके नेपाली पैसा विदेश पनि नजाने र रोजगारी समेत पाउने वातावरण बनाउन सरकारले चासो देखाउनुपर्ने शाक्य बताउँछन् ।   “विदेशमा कालिगढ उत्पादनका लागि सरकारले आफ्नै लगानीमा ट्रेनिङ्ग सञ्चालन गर्दै आएको छ । तर नेपालमा हामीले व्यक्तिगत पहलमा सञ्चालन गर्दा पनि त्यसलाई व्यवस्थित गर्न सरकारले चासो देखाएन,” शाक्य भन्छन्, “राज्यले गर्ने काम हामी आँफैले गर्दा पनि राज्य आँखा खोल्दैन । उल्टै नचाहिने काममा हात हाल्छ ।”

 

नेपालका कालिगढले गहना बनाउँदा पहिलो र दोस्रो चरणको काम गरे पनि ‘फिनिसिङ’ बंगाली कालिगढले गर्दै आएका छन् । हिराका गहना बनाउने कालिगढ सबैभन्दा महंगो ज्याला लिने गर्छन् । उनीहरु दिनकै १०÷१२ हजारसम्म ज्याला लिन्छन् । हिराको आभुषण बनाउने कालीगढ नेपालमा १२ प्रतिशत रहेको महासंघले बताएको ।   गहना बनाउने काम कठिन भएको, तालिम दिने संस्था र व्यक्ति नभएकाले नेपालीमा यो पेशाप्रति आकर्षण कम रहेको महासंघको भनाइ छ । पुख्र्यौली पेशा भएकाहरुले मात्रै यो पेशा अपनाउने गरेको महासंघका पूर्व अध्यक्ष शाक्य बताउँछन् ।

 

“निकै मेहनत गर्नु पर्ने र पछिल्लो पुस्ता प्रविधितर्फ आकर्षित भएकाले पनि यो पेशामा आउन नचाहेको हो,” शाक्य भन्छन्, “यदी घनले नठोकी मेसिनले बनाउने प्रविधिको विकास हुने हो भने अन्य पेशाबाट पनि यो पेशामा धेरै आउने सम्भावना रहन्छ ।”  अहिले सुनचाँदीको गहना बनाउने कालिगढले औषतमा प्रति महिना ३० हजार कमाउने गरेको शाक्य बताउँछन् ।  विदेशी कालिगढको भर पनुपर्दा त्यसको मार सुनचाँदी ब्यबसायीलाई पनि पर्ने गरेको छ । भूकम्पको बेला एक हजार किलो सुन लिएर विदेशी कालिगढ बेपत्ता भए ।    “भूकम्पबाट बिचलित भएकाबेला नेपालबाट कालिगढले १ हजार किलोभन्दा धेरै सुन लिएर भागे । उनीहरु नेपाल फर्किएर आएनन्,” शाक्य भन्छन्, “उनीहरु सरकारको रेकर्डमा भएको भए ब्यबसायीले सुन फिर्ता लिन सक्थे । सरकारलाई यो समस्या सुनाउँदा उल्टै किन अरुलाई सुनको जिम्मा दिएको भन्दै व्यवसायीलाई नै दुःख दिने काम ग¥यो ।”