नेकपाको चियापान आज ५० हजारलाई निम्ता,

१० कार्तिक २०७५, शनिबार ०९:४६

नेपाल कम्युनिस्ट पार्टीको नेकपा ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीताका लागि नेकपाले सार्वजनिक रुपमा निम्ता गरेको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विज्ञप्तिमा विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिइएको छ । पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व भएको भनिएकोे छ ।

काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ । नेकपाएमाले र नेकपामाओवादी केन्द्र ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने छ ।