नीतिमध्येको मूल नीति राजनीति

२३ पुष २०७७, बिहीबार ०८:२८

डा डिआर अपाध्याय,

यतिखेर नेकपाका दुई खेमाका कार्यकर्ताबीच जुहारी चलिरहेको अवस्था छ । यसले गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका आम कार्यकर्तामा नकारात्मक प्रभाव परिरहेको छ । विगतमा एकै पार्टीमा रहँदा नेता कार्यकर्ता बिच राम्रो सम्बन्ध थियो । अहिले पार्टी दुई खेमामा रहँदा एकले अर्कालाई गाली गलोजको वर्षा चलिरहेको छ । यसले आम कार्यकर्तामा निरास उत्पन्न गराएको छ । दुबै खेमाका नेता कार्यकर्ता हरु निम्नस्तरको गालीगलौजमा उत्रनु त्यती राम्रो कुरा होइन ।यसले त्यती राम्रो सन्देश दिएको छैन । गुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको नै हित गर्छ । हाल नेकपाका दुई खेमाको अवस्था यस्तो छ । अहिले नेकपाका दुई खेमा बिच एकले अर्को समूहलाई जसरी पनि सिध्याउने खेलमा नेता, कार्यकर्ता लागेका छन्। यस्ता गतिविधिले राजनीतिक व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।यसले गर्दा सिंगो मुलुकलाई अन्धकारतर्फ धकेलिरहेको छ । राजनीतिक दलका नेताहरु मुलुकप्रति त्यती गम्भिर हुन सकेका छैनन् । आफ्नो व्यक्तिगत स्वार्थ र पदमा उनीहरु रमाइ रहेका छन् । देश र जनताको कुनै वास्ता छैन । सामाजिक सञ्जाल र मूलधारको सञ्चारमाध्यमसमेत रंगिने गरी भइरहेको गुटगत आरोप–प्रत्यारोपका विषयमा कोही नेता तथा कार्यकर्ता सजग बन्न सकेका छैनन्। जनताले निकै ठूलो भरोसा गरेका र मुलुकको नेतृत्वमा पुग्ने नेतासमेत निम्नस्तरको गालीगलौजमा उत्रिनु उचित हुँदैन ।
यतिखेर नेकपाभित्रका विपक्षी र सत्तापक्षी दुवै खेमाले प्रशिक्षण, भेला र सडक प्रदर्शन लगाएतका कार्यक्रममा प्रतिष्प्रर्धा गरिरहेका छन् । यो अवस्थाले जनतामा झन् दिक्दारी थपिइरहेको छ। नीतिमध्येको मूल नीति राजनीति हो । राजनीतिको नेतृत्व गर्ने अगुवाहरूले नै यस्तो गलत परिपाटी अँगालेपछि जनताले उनीहरूबाट के अपेक्षा गर्ने ? यस्ता नेताबाट देशको विकास, समृद्धि र सुशासन कायम हुन्छ भनेर कसरी विश्वास गर्ने ? फरक मत, विचार र सिद्धान्त हुनु लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो। तर लोकतन्त्रको दुरुपयोग गर्न कुनै दल र तिनका नेताहरुलाई छुट छैन । राजनीतिका नाममा नेताहरुले मनपरि गर्ने प्रवृति त्याग्नु पर्छ । राजनीति भनेको समाजसेवा हो ,यसलाई व्यापार बनाउन खोज्नु संविधान र लोकतान्त्रिक व्यवस्थाको मर्म विपरित कार्य हो । केही नेताहरुका कारण राजनीति बदनाम बन्दै गइरहेको छ । यी र यस्ता कुराप्रति नयाँपुस्ताका नेताहरु सचेत र सजग हुन जरुरी छ ।