निश्चलको ‘घामड शेरे’

३१ भाद्र २०७६, मंगलवार ११:४७

काठमाडौं, हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘घामड शेरे’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिनेता निश्चल बस्नेतलाई फिचर्ड गरिएको छ । ८ कातिकदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

अभिनेता निश्चल नै ‘घामड शेरे’ को भूमिका रहेको यो चलचित्रले एक घामड पात्रको कथालाई प्रस्तुत गरेको छ । सार्वजनिक पोस्टरमा निश्चलको ‘शेरे’ लुक्सलाई देखाइएको छ । सामाजिक कथालाई हास्यप्रधान ढंगले प्रस्तुत गरिएको यस चलचित्रमा निश्चलसँगै अभिनेत्री स्वस्तिमा खड्काको समेत प्रमुख भूमिका रहेको छ । रियल लाइफका यो जोडीलाई पहिलोपटक यसै चलचित्रमा जोडीका रूपमा देख्न सकिनेछ ।

निर्देशक बिसीकै कथा तथा पटकथा रहेको यो चलचित्रमा बादल भट्ट, सुष्मा निरौला, लोकेन्द्र लेखक र रोयको लगायत कलाकारको अभिनय छ । त्यस्तै, अभिनेत्री गौरी मल्ल यसमा अतिथि भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।