निर्मला हत्या प्रकरणः प्रतिवेदन तयार पार्दै छानबिन समिति विष्टको डीएनए परीक्षणले रहस्य खुल्ने प्रहरीको विश्वास

२० भाद्र २०७५, बुधबार १८:११

 

कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका गर्ने जिम्मेवारीसहित गठन भएको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

कारागार व्यवस्थापना विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठिन समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको हो । समितिको म्याद सकिन २ दिन मात्रै बाँकी रहँदा मैनालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘प्रतिवेदन लेख्ने काम पनि सुरु भइसकेको छ ।’

यद्यपि, उनले घटनाको विषयमा थप विवरण बताउन चाहेनन् । ‘अहिल्यै तपाईंहरुलाई भन्नलाई नयाँ विषय छैन’, उनले थपे ।

स्रोतका अनुसार मैनाली नेतृत्वको समितिले तत्कालिन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले गरेको अनुसन्धानमा शंका गर्नु पर्ने ठाउँहरु भेट्टाएको छ ।

प्रहरीेले घटनालाई हल्का रुपमा लिएर गैरजिम्मेवारपूर्ण काम गरेको समितिले निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

समितिले निर्मला पन्तको घटनासँग सम्बन्धित व्यक्ति, स्थानीय र अन्य सरोकारवालासँग बयान समेत लिएको थियो । ‘तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट नेतृत्वको टोलीले गरेको अनुसन्धान, स्थानीयको प्रदर्शन लगायतको विविध पाटो पनि प्रतिवेदनमा समेटिने छ’, समिति निकट स्रोतले भन्यो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

तर, मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त स्वीकार गर्न स्थानीय तयार भएनन् र आन्दोलन चर्काए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जना बालकको मृत्यु समेत भएको थियो ।

गोलीकाण्डपछि सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सीआईबीका वरिष्ठ उपरीक्षक पनि कञ्चनपुरमा

प्रारम्भमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का डिएसपी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको भएपनि स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक एसएसपीनेतृत्वको प्रहरी टोली कञ्चनपुरमा छ ।

सीआर्इबीकै एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डिएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान थालेको छ ।

यसअघिको अनुसन्धानमाथि प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीका वरिष्ठ अधिकृतलाई त्यहाँ पठाएको जनाइएको छ ।

‘हाम्रो टोलीले त्यहाँ आवश्यक सहयोग गर्ने काम थालिसकेको छ’, सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नारायणसिंह खड्काले अनलाइनखबरसँग भने, ‘विशेष गरी त्यहाँ रहेको टोलीलाई प्राविधिक सहयोग प्रदान गर्ने उद्दश्यले टोली त्यहाँ गएको हो ।’

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी कुबेर कडायत घटनाको अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिने काम भइरहेको बताउँछन् । उनले घटनाको गम्भीरतापूर्वक लिएको नयाँ शिराबाट अनुसन्धान भइरहेको दाबी गरेका छन् ।

कञ्चनपुर प्रहरीका एक अधिकारी भने नयाँ टोलीले गरेको अनुसन्धानले पनि दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको बताउँछन् ।

यसैबीच, प्रहरी सार्वजनिक गरेको विष्टलाई उपचार र डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको छ । डीएनए रिपोर्ट आएपछि निर्मला हत्या प्रकरणको रहस्य खुल्ने प्रहरीको विश्वास छ ।