निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छः आईजीपी खनाल

९ पुष २०७५, सोमबार १८:१७

काठमाडौं– प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्याका सम्बन्धमा प्रहरीले इमान्दारीताका साथ अनुसन्धान गरिरहेको छ । गलत जसले गरेको छ उ जतिसुकै शक्तिशाली भएपनि समातिन्छ ।

प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर अनुसन्धान जारी राखेको भन्दै उनले दोषीलाई कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । प्रहरीको अनुसन्धानप्रति विस्वस्त हुन आग्रह गर्दै उनले पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कारबाहीको दायरमा ल्याइछाड्ने बताए । साउन १० गते पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको हत्यापछि अभियुक्तलाई पक्राउ गर्न चौतर्फी दवाव परेपनि प्रहरी सफल हुन सकेको छैन । बरु पछिल्लो समय प्रहरीकै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठिरहेको बेला आईजीपी खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।