निर्मला पन्तका हत्यारालाई बचाउन खोजेको भन्दै कञ्चनपुर तनावग्रस्त, स्थानीय बासीद्धारा महेन्द्रनगर पूर्णरुपमा बन्द

५ भाद्र २०७५, मंगलवार ११:२८

भदौ ५, काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ ।

स्थानीयले प्रहरीलाई समेत लखेटेका छन् । आक्रोशित भीडले प्रहरीको भ्यानलाई समेत घेरेको छ ।

भीमदत्तरनगरपालिका–२ कि निर्मला गत साउन ११ गते मृत अवस्थामा उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले सोमबार निर्मलाको बलात्कारपछि हत्यामा संग्नलन रहेको आरोपमा भीमदत्तरपालिका–१९ बाँगफाँटाका ४१ वर्षिय दिलिप सिहं विष्टलाई सार्वजनिक गरेको थियो । स्थानीयले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ती दिन खोजेको आरोप प्रहरीमाथी लगाएका छन् ।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै विष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको दाबी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले प्रहरीले वास्तविक हत्यारालाई नै पक्राउ गरेको बताए । उनले प्रहरी अनुसन्धान प्रमाणका आधारमा भएकाले आन्दोलनको ‘तुक नभएको’ बताए । बिहानैदेखि महिला, व्यापारी, स्थानीयबासी चोक–चोकमा प्रहरीविरुद्ध प्रदर्शन गरिरहेको स्थानीय पत्रकार मोहन विष्टले जानकारी दिए ।

(स्रोत : बाह्रखरी)