नारायणगढ–मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि बन्द

५ माघ २०७४, शुक्रबार १०:१२

माघ ५, काठमाडौं ।

निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोको समय पनि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ गते बाट विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने  निर्णय गरेको हो ।

‘रातिमा बन्द गरेर काम गर्दा प्रगति हात लाग्न सकेन,’ सुप्रिम रौताहा निर्माण कम्पनीमा कन्ट्याक्ट म्यानेजर शिशिर कन्दङ्वाले भने, ‘काम गर्न निकै असहज भयो ।’

  • अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

 

  • रातको समयमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसो बन्द गर्न लागिएको हो ।

ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन  १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।