नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्र चर्चाको विषय

३० जेष्ठ २०७५, बुधबार ०४:४०

जेठ ३०, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।

एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।

  • पत्रमा के छ ?

गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’

प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

  • कांग्रेस आईको प्रतिक्रिया

तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।

कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’

मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।

बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।

यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।