नयाँ प्रविधिमा लगानी गर्दै बागलुङका किसानहरु

६ कार्तिक २०७५, मंगलवार १२:२१

उत्पादन बढाउन प्लाष्टिक घरभित्र तरकारी खेती गर्दै आएका बागलुङका किसानहरु दीर्घकालिन आम्दानीका ‘हाइटेक टनेल’ प्रविधिमा लगानी बढाउँन थालेका छन् । थोरै लगानीमा निर्माण हुने परम्परागत बाँसका प्लाष्टिक घरहरु छोटो समयमै भत्किदा प्रतिफल प्राप्त गर्न नसकिने भएपछि किसानहरु लाखौं रुपैया खर्च गरेर फलामे ‘हाइटेक टनेल’मा लगानी बढाउन थालेका हुन् ।

खुल्ला आकाशमा तरकारी खेती गर्दा रोग किराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि उचित मानिएको प्लाष्टिक घर भित्रको तरकारी खेतीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै जिल्लाका विभिन्न किसानहरुले ‘हाइटेक टनेल’ प्रविधि अपनाएर खेती गर्दै आएको किसानहरु बताउँछन् । बाँसबाट निर्माण गरिने परम्परागत प्लाष्टिक घर धेरै वर्ष नटिक्ने, सामान्य हावाहुरीले असर गर्ने समस्याबाट पीडित किसानहरु लाखौं लगानी गरेर हाइटेक प्रविधिको प्लाष्टिक घर निर्माण गरिरहेको गलकोटका अगुवा किसान गुमानसिँह खत्रीले बताए ।

जिल्लामा पहिलोपटक हाइटेक प्रविधिको टनेल निर्माणको काम सुरु गरेक खत्रीले एकपटकको लगानीबाट जीवनभर ढुक्क बस्न सकिने भएकाले करिब २० लाख रुपियाँ खर्च गरेर उक्त प्रविधि अपनाएको खत्रीले बताए । परम्परागत टनेलमा खेती गर्दा भन्दा आधुनिक टनेलमा खेती गर्दा तीन(चार गुणा बढी उत्पादन गर्न सकिने बताउने खत्रीले अहिलेको एक सिजनमा ७९ क्वीन्टलभनदा बढी टमाटर बिक्री गरेको बताउछन ।

एक वर्ष अगाडि निर्माण गरिएका चारवटा आधुनिक प्लाष्टिक घरमा इजरायली हाइटेक प्रविधिको टर्नेल घर तथा थोपा सिंचाई प्रविधिबाट तरकारी खेती गर्दै आएका खत्रीले आफूले गरेको दीर्घकालिन आम्दानीको योजनाअनुसार अन्य किसानहरु पनि यसतर्फ आकर्षित बनेको बताए।